भैरहवा मंसिर १/
चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा मंसिर ३ देखि २१ गतेसम्म भैरहवामा सञ्चालन हुने सातौं लुम्बिनी महोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ । सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा हुने महोत्सवको तयारी करिव असि प्रतिशत सम्पन्न भएको चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले जानकारी दिए ।

महोत्सवको तयारीमा ३५ वटा उपसमिति जुटेको छ । ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नाराका साथ महोत्सव हुँदैछ । यस वर्षको महोत्सवको आकर्षणमा फिस टनेल, जलपरी, आईफील टावर लगायत बालउद्यानको मनोरञ्जन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । विगतको मेला भन्दा यसपटक केही फरक र अलग रहेको संयोजक रोक्काले जानकारी दिए ।

महोत्सवलाई सफल बनाउन सबैलाई आ–आफनो क्षेत्रबाट सहयोग गर्न रोक्काले आग्रह गरेका छन् । लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको विकास गर्ने र लुम्बिनीलाई यस क्षेत्रको पर्यटकीय आर्थिक पर्यटनको रुपमा विकास गर्ने, परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी राष्ट्रिय, साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहन स्वरुप प्रवद्र्धन गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

चेम्बर अफ कर्म, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका सह–संयोजक दर्पण श्रेष्ठले उद्योगी–व्यवसायीले वार्षिक रुपमा सञ्चालन गर्ने महोत्सव चाडपर्वको रुपमा मनाउँदै आएको बताए । महोत्सवमा यस क्षेत्रको रैथाने खेलको रुपमा परिचित कुस्ती प्रतियोगिता यसपटक पनि सञ्चालन गरिने उहाँले जानकारी दिए । श्रेष्ठका अनसार तीन दिनसम्म सञ्चालन हुने कुस्तीमा महिला पहलमानको पनि सहभागीता रहनेछ ।

संस्थाका वरिष्ठ उपाध्यक्ष तथा स्टल दर्ता व्यवस्थापन उपसमिति संयोजक राम मिलन यादवले महोत्सवमा २५० बढी स्टल रहने जानकारी दिए । चेम्बर अफ कमर्स, रुपन्देहीको महासचिव लक्ष्मी अधिकारीले संस्थामा दर्ता रही नविकरण भएका सम्पूर्ण साधारण सदस्य एवं आजीवन सदस्यहरुलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहेको बताईन ।