भैरहवा । उद्योगी व्यवसायीहरुको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले कोभिड विरुद्धको खोपको सुनिश्चितताका लागि अपिल गरेको छ ।
संघले आइतबार एक विज्ञप्ती जारी गर्दै नागरिकलाई कोरोना संक्रमणबाट बचाउन छिट्टै खोपको उपलब्धता सुनिश्चित गर्न तथा खोप आयातका लागि कुटनीतिक पहल तीव्र पार्न अपील गरेको हो ।
नेपाल सरकार, स्थानीय प्रशासनले वैशाख १६ गते देखि जारी गरेको निषेधाज्ञालाई आमनागरिक तथा उद्योगी व्यवसायीहरुले दैनिक गतिविधी पूर्ण रुपमा बन्द गरी कोरोनासँगको लडाईका लागि पूर्ण सहयोग गरिरहेको छ । संक्रमण रोकथामको लागि निषेधाज्ञाको समय थप गर्दै जादा लगातारको बन्दले बैंक ब्याज, घरभाडा, कर, विभिन्न सरकारी राजस्व, कर्मचारी तलब आदि भुक्तानी गर्नुपर्ने दबावका कारण उद्योगी व्यवसायीहरु ज्यादै मर्कामा परेका र व्यवसायबाट पलायन हुने वा टाट पल्टने अवस्थामा पुगिसकेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको असर कति समय सम्म रहने भन्ने अन्यौलताका बिच निषेधाज्ञा मात्र कोरोना संक्रमण रोकथामको विकल्प नरहेको भन्दै संघले विश्वका कतिपय राष्ट्रहरु तथा स्वास्थ विज्ञहरुको अनुभव र परामर्श अनुसार कोभिडविरुद्धको खोप नै नै कोरोना संक्रमण नियन्त्रणको महत्वपूर्ण उपाय हो भन्ने पुष्टि गरेकोले खोपको सुनिश्चितता गर्न संघले आग्रह गरेको छ ।
संघका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठद्वारा हस्ताक्षरीत अपिल पत्रमा नेपाल सरकार तथा राज्य संयन्त्रमा पहुँच भएका सम्बन्धित सबैमा आफ्ना राजनीतिक, सामाजिक अनुभव र कुटनीतिक सम्बन्धहरुलाई प्रयोग गर्दै छिटो भन्दा छिटो खोपको सुनिश्चितता गर्नुपर्ने संघको आग्रह छ । कोभिडको दोस्रो लहरको संक्रमणबाट नागरिकले उपचारको सुविधा समेत पाउन नसकेको तथा ठूलो संख्यामा नागरिकहरुले ज्यान गुमाउनु परेको यथार्थ तथा संवैधानिक अधिकार अनुसार जनताको स्वास्थ्यको सुरक्षा सुनिश्चित गर्नु सरकारको मुख्य दायित्व भएको भन्दै ध्यानाकर्षण गराएका कावा अध्यक्ष श्रेष्ठले बताए ।
‘कोरोनाविरुद्धको लडाईको आवश्यक तयारी पीसीआर परीक्षण, आवश्यक आइसोलेशन कक्षहरु निर्माण र अक्सिजन तथा भेन्टिलेटरको व्यवस्थापन गर्न नेपाल सरकारलाई पूर्ण रुपमा संघ र सदस्यले सहयोग गर्दै आएको छ ।