भैरहवा । तिलोत्तमा नगरपालिकाले सबै भन्दा बढि बजेट पाएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि सरकारले प्रस्तुत गरेको बजेटमा देशभरका नगरपालिकामध्ये तिलोत्तमा नगरपालिकाले सबैभन्दा बढी बजेट प्राप्त गरेको हो ।
नेपाल सरकारले देशका सबै स्थानीय पालिकाहरूलाई कार्यसम्पादनमा आधारित अनुदान, न्यूनतम् अनुदान, सुत्रमा आधारित अनुदान गरी समानीकरण अनुदान सहित सशर्त अनुदान, समपुरक अनुदान र अन्तरसरकारी वित्तीय अनुदान हस्तान्तरण गर्दै आएको छ । सोही अनुदानवापत तिलोत्तमा नगरपालिकाले ८३ करोड ३७ लाख बजेट प्राप्त गरेको हो । यो बजेट नेपालका नगरपालिका मध्ये सबै भन्दा बढि हो ।
तिलोत्तमापछि उदयपुरको त्रियुगा नगरपालिकाले ७९ करोड ७ लाख र पाँचथरको फिदिम नगरपालिकाले ६८ करोड ३३ लाख रुपैयाँ बजेट प्राप्त गरेका छन् । त्यस्तै, रुपन्देहीका अन्य नगरपालिकाहरूमध्ये लुम्बिनी सांस्कृतिक नगरपालिकाले ५४ करोड १५ लाख, सिद्धार्थनगर नगरपालिकाले ५३ करोड ४३ लाख, सैनामैना नगरपालिकाले ४२ लाख ६५ लाख र देवदह नगरपालिकाले ४२ करोड ६० लाख रुपैयाँ प्राप्त गरेका छन् ।
लुम्बिनी प्रदेशका उपमहानगरपालिकाहरूमध्ये सबैभन्दा बढी दाङको घोराही उपमहानगरपालिकाले एक अर्ब तीन करोड ५५ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै, तुलसीपुर उपमहानगरपालिकाले ९१ करोड ५८ लाख र नेपालगञ्ज उपमहानगरपालिकाले ९४ करोड ६१ लाख प्राप्त गर्दा बुटवल उपमहानगरपालिकाले भने यस वर्ष ७८ करोड ९७ लाख मात्र बजेट प्राप्त गरेको छ ।
बुटवल उपमहानगरपालिकाले न्यूनतम् अनुदान ८ करोड २५ लाख प्राप्त गरेको छ भने तिलोत्तमाले ५ करोड, देवदहले ३ करोड ७५ लाख, लुम्बिनी सांस्कृतिक नगरपालिकाले ४ करोड २५ लाख, सिद्धार्थनगर नगरपालिकाले ४ करोड र सैनामैनाले ३ करोड ७५ लाख प्राप्त गरेका छन् ।
त्यस्तै, आगामी आर्थिक वर्षका लागि रुपन्देहीको ओमसतिया गाउँपालिकाले २८ करोड ६० लाख, कञ्चन गाउँपालिकाले ३३ करोड ७५ लाख, कोटहीमाई गाउँपालिकाले २८ करोड ९० लाख, गैडहवा गाउँपालिकाले ३२ करोड ७८ लाख र मर्चवारी गाउँपालिकाले ३० करोड ९५ लाख प्राप्त गरेका छन् ।
त्यसैगरी, मायादेवी गाउँपालिकाले ३५ करोड ८८ लाख, रोहिणी गाउँपालिकाले ३४ करोड १९ लाख, सुद्धोधन गाउँपालिकाले ३१ करोड ४३ लाख, सम्मरीमाई गाउँपालिकाले ३२ करोड ७५ लाख र सियारी गाउँपालिकाले ३८ करोड ५० लाख अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत् संघीय सरकारबाट बजेट प्राप्त गरेका छन् ।