भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दे एक साता थप गरेको छ । जिल्लास्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको आज सोमबार बसेको बैठकले असार ७ गते राती १२ बजे सम्मका लागि चौथो पटक निषेधाज्ञा थप्न सिफारिस गरेको थियो, जस अनुसार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई निरन्तरता दिदै आदेश गरेका हुन ।
कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका जिल्ला प्रशासन कार्यालयले बैशाख १६ गते देखि निषेधाज्ञा जारी गर्दै आएको छ । अहिले जिल्लामा कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा केही खुकुलो बनाइएको हो । मंगलबारदेखि लागु हुने गरी एक साता माछामासु, तरकारी, फलफूल तथा दुधजन्य सामग्रीका पसल बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म र अन्य प्रकृतिका व्यवसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्न दिने आदेश भएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा के कसरी लैजाने भन्नेबारे स्थानीय उद्योगी व्यवसायी, बैकंर्स, संघसंस्था, सुरक्षा निकाय लगायतसँग सुझाव तथा राय लिई निचोेडअनुसार निषेधाज्ञा आदेश गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए । अन्य आदेश भने यथावत जारी रहेको छ ।
निषेधाज्ञा खुकुलो भएपनि सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालन नगर्ने, सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गरेमा कोभिड १९ व्यबस्थापन सम्बन्धमा जारी अध्यादेश अनुसार कारवाही गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसल सञ्चालन गर्ने, व्यवसाय खुला भएपनि शिक्षण संस्थाजस्ता क्षेत्र भने नखुल्ने जारी सन्देशमा उल्लेख छ ।
निषेधाज्ञाको पूर्णपाठ



