मर्चवार । रूपन्देहीको मर्चवारमा झोलुङ्गे पुलबाट खसेर बालक अझै बेपत्ता रहेका छन् । मायादेवी गाउँपालिका वडा नम्बर ५ गोनहास्थित तिनाउ खोलामा रहेको पुलको भाँचिएको पट्टाबाट खोलामा खसेर ६ वर्षका बालक राजु जयसवाल बेपत्ता भएका थिए ।
मामा घरबाट आफ्नो घर फर्किँदै गर्दा बिहीबार करिब दिउँसो १२ बजे ती बालक खोलामा खसेका थिए । मृतक बालक आफ्नो मामा र आमासँग कोटहीमाई गाउँपालिका वडा नम्बर ३ मर्यादपुरमा रहेको मामा घरबाट कोटहीमाई गाउँपालिका वडा नम्बर २ पकडी जाँदै गर्दा मायादेवी गाउँपालिका वडा नम्बर ५ बसहवा र गोनहा घाटमा रहेको झोलुङ्गे पुल पार गरिरहेको समयमा भाँचिएको पट्टाबाट खोलामा खसेका थिए ।
बालक पुलबाट खोलामा खसेपछि स्थानीय युवाहरूले खोजतलास गरेपनि शव फेला परेको छैन । इलाका प्रहरी चौकी मझगावाका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार परिवारबाट पनि केही खबर अाएकाे छैन, हामीले पनि फेला पारेका छैनाै खाेजी निरन्तर जारी छ ।
खाेलामा पानीकाे सतह बढेकाेले पनि खाेजी कार्यमा कठिनाइ थियाे, अहिले पानीकाे सतह घटेकाेले संयुक्त रूपमा बेपत्ता बालककाे खाेजी गर्ने छाै प्रहरी निरीक्षक खत्रीले भने ।
पुलमा लगाएको पट्टा भाँचिएको लगभग दुई महिना भइसक्दा पनि स्थानीय सरकारले मर्मतमा ध्यान नदिएको स्थानीयहरूले गुनासो गरेका छन् । ‘पुलको पट्टा बनाउनका लागि मिस्त्रीलाई जिम्मा दिएका थियौँ, लकडाउनले गर्दा पसल बन्द भएपछि पट्टा मर्मत गर्न सकिएको थिएन, यही बेला दुखद घटना भयाे स्थानीय वडा अध्यक्ष रामचन्द्र यादवले भने