हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाउने विश्व योग दिवस आज मनाइँदै छ । योगका विभिन्न आसन तथा ध्यानलगायतका कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस सन् २०१४ बाट मनाउन सुरु गरिएको हो ।
भारतको नेतृत्वमा सुरुवात गरिएको योग दिवस मनाउन अभियानलाई संयुक्त राष्ट्र संघको साधारणसभाले ११ डिसेम्बर २०१४ मा मान्यता दिएको थियो। राष्ट्र संघले मान्यता दिएसँगै २१ जुनलाई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।
सन् २०१६ मा युनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रुपमा दर्ता गरेको छ । आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणको महत्त्व दिन्छ ।
आफ्नो नजरमा आफ्नो महत्त्व र उपस्थितिको मूल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्मसम्मानको वृद्धिका लागि पनि योग एकमात्र सरल र सहज उपाय भएको जानकारहरु बताउँछन् ।
गौतम बुद्धदेखि क्राइस्टसम्म, शिवदेखि कृष्णसम्म अनि अरु विभिन्न दर्शन केन्द्रीत महात्माहरूले पनि आफ्नो जीवनकालमा योग अभ्यास गरेका थिए । यसैबीच सरकारले योग दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षता मुख्य समारोह समिति गठन गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारणका समितिले आज दिवस भर्चुअल माध्यमबाट मनाउँदैछ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आतिथ्यतामा भर्चुअल माध्यममार्फत कार्यक्रम गर्न लागिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । गएको जेठ २६ गतेको मन्त्रिपरिषद् बैठकले यो दिवस मनाउनका लागि जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति रहने र समितिका अरु सदस्यहरु प्रमुख जिल्ला अधिकारीले नै तोक्ने व्यवस्था गरेको छ ।
कोरोना सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण स्वास्थ्यका मापदण्ड अपनाएर दिवस मनाउन सरकारले आग्रह गरेको छ ।
योगले शरीर र मनलाई सन्तुलित रूपमा समन्वय गरेर हटाउँछ। तर सही तरिकाले नगरिए फाइदाभन्दा बेफाइदा बढी गर्छ। उपयुक्त तरिकाले योग गरे सबै अंग, प्रत्यंग र ग्रन्थीहरूको व्यायाम हुन्छ र सबै अंगलाई सहज बनाइदिन्छ।
रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। बुढेसकालमा पनि जवान झैं स्वस्थ र स्फूर्त बनाउँछ भने योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ। योगले तनाव भगाउँछ। मीठो निद्रा लगाउँछ। भोक जगाउँछ र पाचन प्रक्रियालाई सही ढंगबाट चलाउँछ। प्राणायामले स्वासप्रश्वासको गति नियन्त्रण गर्छ।
यसका साथै ध्यान पनि योगको महत्वपूर्ण अंग भएकाले ध्यानले एकाग्रता बढाउँछ। तनाव कम गराउँछ। नियमित योगाभ्यासले शरीरमा चिनी र कोलस्ट्रोलको मात्रा घटाउँछ। नियमित गर्न सके योगका आसन र ध्यानले बाथरोग, पछाडि दुख्ने (ब्याक पेन)को समस्या कम गर्छ। महिलाहरूमा महिनावारीका बेला देखिने समस्या तथा गर्भवतीहरूले योग गर्दा पेटभित्रको बच्चालाई समेत फाइदा हुन्छ। तीन चार वर्षदेखि नै बालबालिकालाई योग गराउँदा उनीहरूको दिमाग तीक्ष्ण हुने र शरीर पनि स्वस्थ हुन्छ।