भैरहवा भदौ ८/
बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको पेसी स्थगित भएको छ। आरोपित शाह जिल्ला अदालत नवलपुरमा उपस्थित नभएपछि उनका कानुन व्यवसायी टंक बस्यालको अनुरोधमा बुधबारको पेसी स्थगित भएको हो।
बुधबार पलको पेसी नवलपुर जिल्ला अदालतको १ नम्बर इजलासमा तोकिएको थियो। अर्को पेसी पछि तोकिने जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए।
गत ११ फागुनमा नाबालिगमाथि पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो। त्यसको चार दिनपछि शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए।
आरोपित शाहले आफू निर्दोष रहेको भन्दै थुनाबाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत पोखरामा निवेदन दिएका थिए। तर, उच्च अदालतले भने उनको निवेदन अस्वीकृत गरिदिएको थियो।