भैरहवा, ८ भदौ ।
ओके मिडिया र युनिक साउण्ड, भैरहवाको संयुक्त आयोजनामा भैरहवामा तीज उत्सव–२०७९ हुने भएको छ । यही भदौ ९ गते बिहीबार दिउँसो साढे ३ बजेदेखि राती ९ बजेसम्म सानु डिर्पाटमेन्ट स्टोरको पार्किङ क्षेत्रमा उक्त कार्यक्रम हुने आयोजकले मंगलबार भैरहवामा पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै न्यूज ओकेका सम्पादक मनोरञ्जन शर्माले तीजमा यस क्षेत्रका दिदीबहिनीहरुलाई एकैस्थानमा ल्याएर शुभकामना साटासाट साथै मनोरञ्जन प्रदान गर्नु कार्यक्रमको उद्देश्य भएको बताए । उनले भने, ‘होटल रेष्टुरेण्टमा सीमित रहँदै आएको तीजका कार्यक्रमलाई खुल्ला रुपमा दिदीबहिनीलाई भेला गराइ तीजमय वातावरण प्रदान गर्नु कार्यक्रमको उद्देश्य हो । ’
कार्यक्रममा शुभकामनासहित तीजको महत्व, तीजमा दर खाँदा र ब्रत बस्दा ध्यान दिनुपर्ने कुराबारे चिकित्सकको भनाइ, तीजको सौन्दर्यता, ब्यूटी टिप्सबारे जानकारीका साथै विविध साँस्कृतिक कार्यक्रम, तीज गित, तीज गीतमा नृत्य र गायन कार्यक्रम हुने शर्माले जानकारी दिए ।
शर्माकाअनुसार कार्यक्रममा सहयोगी संस्थाका रुपमा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, कृषि विकास बैंक लिमिटेड, जेसीआई सिद्धार्थ लेडी नेपाल, लायन्स क्लब अफ सिद्धार्थनगर नोबल लेडिज, आस्था उद्यमी महिला संघ, लायन्स क्लब अफ सिद्धार्थनगर लोटस्, लायन्स क्लब अफ सिद्धार्थनगर टुलिप, लायन्स क्लब अफ सिद्धार्थनगर सृजनशील, ब्यूटिसियन संघ सिद्धार्थनगर, इनरह्वील क्लब अफ लुम्बिनी, लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडी लगायत संस्था रहेका छन् ।
त्यस्तै कार्यक्रममा साउण्ड लाइट पार्टनरका रुपमा युनिक साउण्ड, हस्पिटालिटी पार्टनरका रुपमा कौशी डाउनटाउन, ग्राफिक्स प्रिन्टीङ्ग पार्टनरका रुपमा एके ग्राफिक्स रहेका छन् ।
युनिक साउण्ड, भैरहवाका प्रोप्राइटर रइस खानले तीज उत्सवमा प्रवेश निःशुल्क रहेको बताए । उनले कोरोना महामारीको कारण केही वर्ष व्यवसाय प्रभावित भएको बताए । उनले स्थानीय बजारको प्रबद्र्धनका लागि आ–आफ्नो क्षेत्रबाट अघि बढ्नुपर्नेमा जोड दिए । ओयु समूह (ओके युनिक)ले विगतमा पनि फूड फेस्टीभल यसै स्थानमा आयोजना गरिसकेको छ ।