भैरहवा, असार २८ । बिहीबारदेखि अवरूद्ध रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पुनः सुरू भएका छन् । विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो । शुक्रबार साढे १० बजेपछि विमानस्थलबाट तीन वटा जहाजले उडान भरेका छ । बिहीबार साँझ काठमाडौंबाट भैरहवा आएका तीन वटा जहाज काठमाडौंका लागि उडान गरेको गरेको छ ।
काठमाडौंबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको हो । जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ । जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार रहेका थिए ।जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । गएराति नै बुद्ध एयरको प्राविधिक टोली र सुरक्षाकर्मीले जहाजलाई तानेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास असफल भएको बताइएको छ ।