श्रावण र भाद्र महिना वर्षा ऋतुका प्रतीक हुन्। चारैतिर हरियाली फैलिन्छ, हरियोले भरिएका वनस्पति र ताजगीले भरिएको वातावरणले प्रकृतिको सुन्दरता झल्काउँछ। श्रावण महिना भन्नासाथ खोलानालाको सुस्केरा, भञ्ज्याङको गुन्जन र निरन्तर झरीको सम्झना आउँछ। यो महिनाका रातहरू प्रायः चकमन्न अँध्यारा हुन्छन् — आकाशमा तारा देखिन गाह्रो, कहिलेकाहीं देखिए पनि त्यसले अनिकालको पूर्वसूचना दिने विश्वास गरिन्थ्यो।
हाम्रा पुर्खाहरूको परम्परागत कृषि जीवनशैलीमा श्रावण अनिकालको प्रतीक मानिन्थ्यो। त्यस समयमा अहिले जस्तो सर्वसुलभ खाद्यान्न उपलब्ध थिएन। त्यसैले ‘वुढो साउन कटायौं’ भन्नु अर्थात् श्रावण सकियो भने — परिवारलाई भोकमरीबाट जोगायौं भन्ने ठानिन्थ्यो, र घरमूलीहरू त्यसमा गर्व गर्थे।
झरी र बादलले भरिएको यो महिना सम्पर्कविहीनताको समय पनि हुन्थ्यो — बाटोघाटो बन्द, गाउँहरू एकआपसमा टाढा, अनि जीवनलाई प्रकृतिसँग सँगै बगाउनु पर्ने समय।
श्रावण महिनाले नेपाली समाजमा विशेष महत्व राख्छ । कृषिमा निर्भर वास्तविक किसान, सनातनी धर्मावलम्वीहरु मात्रै होईन व्यावसायी, उद्योगपती,श्रमिक,राष्ट्रसेवक,सरकार तथा स्वयं राज्य समेतलाई साउन महिनाले उत्तीकै महत््व राख्छ।श्रावण महिनाको विभिन्न आयामवाट पुरै लेख्न यहाँ संभव नहुने भएकाले यो आलेख केवल “गागरमा सागर” हो । श्रावण महिना वर्षा,व्रत र चाडपर्वहरुको संगम मात्र होईन विशाल सागर हो यसलाई मैले केवल अञ्जुलिमा लिने प्रयास गरे। ।युवालाई वुझाउने,परसंस्कृतिको तन्द्रामा परेकालाई जगाउने र थोरै भएपनि ईतिहास पुस्तान्तरण गर्ने प्रयास हो।पुर्खाहरुको पदचिन्ह पछयाउदै बदलिदो समय अनुसार हिड्नु पर्छ भन्ने पनि यस लेखको मूल मान्यता हो।
श्रावण महिना विशेषगरि धार्मिक,सांस्कृतिक र आध्यात्मिक महत्वको पवित्र महिना मानिन्छ “जलस्नानप्रियो शिवः”अर्थात शिवलाई जल धेरै मनपराउने देवताको रुपमा लिईन्छ।श्रावण महिनामा प्रकृतिले नै जल चढाएर शिवको पूजा गर्छ।भगवान शिवको उपासना,आराधना गर्ने र बोलबमको पवित्र श्रावण महिना। हिन्दु धर्मसँग सम्बन्धित परम्पराका चाडपर्वहरू शुरु हुन्छन।समाजको संस्कारसंग चाडपर्वहरुको सम्वन्ध गाँसिएको हुन्छ।
१. साउने – सङ्क्रान्तिः आध्यात्मीक,वैज्ञानिक एवं बैधानिक चाड
साउन महिनाको पहिलो दिनलाई साउने सङ्क्रान्ति भनिन्छ।ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने सङ्क्रान्तिदेखि सूर्य मिथुन राशीवाट कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ’कर्कट सङ्क्रान्ति’ पनि भनिन्छ।यो दिन देखि सूर्य उत्तरी गोलाद्र्धबा्ट दक्षिणी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ।
क.आरोग्यताको कामना: लुतो फाल्ने दिनः
दाउँराको चिर्पटलाई सल्काएर बल्दै गरेको अगुल्टोलाई पहिला घर चारै दिशातिर फ्याँकिन्छ। त्यसपछी मेरो लुतो लैजाउ भन्दै पारी पट्टिका गाउँघर वा परिचित व्यक्तिलाई वोलाउदै आगोको अगुल्टो फाँल्ने गरिन्छ।सायद असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने प्रचलन चलेको हुन सक्छ ।
ख.प्रकृतिक सौन्दर्य प्रशाधानः हातमा तिउँरी लगाउने दिनः
तिउरी हातमा लगाएर रंगाउने चलन नेपाली ग्रामिण समाजमा महिला तथा युवतीहरुले स्थानीय परम्परा भनौ वा सांस्कृतिक प्रचलन हो।जसलाई शौन्दर्य पवित्रताको रुपमा लिने गरिन्छ।तिउरीका कलिला पातलाई पिसेर वा उमालेर लेदो बनाई हातमा लगाउदा हल्का हरियो वा गुँलावी रंग देखिन्छ।यसलाई अहिले मेहन्दीले विस्थापित गरिसक्यो।सजिलो र सस्तो प्राकृतिक रंग लगाउने यो चलन अहिले हराउदै गए पनि स्मृति,संस्कृति र प्राकृतिक सौन्दयको रुपमा जीवन्त रहने छ।
ग. भलायको पातमा कुरिलो,सिउडी,सिरु राखेर पालीमा घुसार्ने दिनः
कुरीलो,सिउँडी र सिरुलाई धार्मिक श्रद्धा,रोग प्रतिरोधक एवं पवित्र वनस्पतीको रुपमा लिने गरिन्छ। कुरीलो आयुर्वेदिक बनस्पतीमा पर्छ।भलायको पातमा किटनाशक गुण र सिरु तिखो हुने र यसमा रोग प्रतिरोधात्मक गुण हुन्छ भन्ने विश्वास गरिन्छ।सिउँडी काँडायुक्त बनस्पती हो।यसलाई घरमा राख्दा वाढीपहिरो,चट्यांङ जस्ता प्राकृतिक तथा दैविक विपत्ती आउदैन भन्दै हाम्रा पीतापूर्खाहरुले प्रकृतिलाई दिएको महत्व हो।सामान्यतया अहिले पनि यो प्रचलन गाउँघरमा कायम नै छ।
२. हिन्दु महिलाको महान चाड तीज आगमनको संकेतः
लोकसंस्कृति जोगाउने,आफ्नो ईतिहास र पुर्खाको ज्ञानसंग जोड्दै सामाजिक एकतालाई मजवुत वनाउन साउने सक्रान्तीवाट नै मौलिक तीज गीत गाउने प्रचलन भने विगत देखि अहिलेसम्म कायम नै छ। तीज गीतको विगत र वर्तमान यस्तो देखिन्छ।
क भक्ति प्रधान÷ धार्मिक प्रवृत्तीकाः
शिव,पार्वती राम,सीता कृष चरित्र सम्वन्धी धार्मिक आस्थाका गीतहरु तिजमा गाउने गरिन्थ्यो।
ख. दुःखपीाडा ,माया र संघर्षका कथाः
विवाह गरेर पराईघर गएकी चेलीले आफ्ना घरमा पाएको दुःख,सासुको हेपाइ,माइतीको सम्झना,आमाको मायाँलाई समेटेर वेदनाको पोको स्वरुप मौलिक गीत गाउने चलन थियो।समाजमा घटेका महत्वपूर्ण घटनालाई पनि मुख्य विषयवस्तु बनाउदै घाँसदाउरा,लेकवेसी मेलापात गर्दा गाउने गरिन्थ्यो।
ग. सामाजिक चेतना जगाउनेः
समयक्रममा समाजिक चेतना जगाउने,सामाजिक मुद्धा उठाउने,समाजलाई झकझकाउने र सकारात्मक परिवर्तन ल्याउने खालका तीजका गीत बजारमा आए।महिलालाई आफ्ना हकअधिकारहरु प्राप्त गर्न अघि वढन आव्हान गर्दै राजनैतिक अधिकार प्राप्तिका लागि समेत राजनैतिक दलका भातृ संगठन र गैर सरकारीसंस्थाले समेत उत्प्रेरित गरे।
घ. भाईरल होडवाजी र व्यापारीकरणः
प्छिल्लो चरणमा वढ्दो सामाजिक संजालको प्रभावले भाईरल हुने र व्यापारीकरणको लागि सर्जकहरुले तीजको मौलिक मर्म विर्सेर छाडापन र अपाच्य शव्द भित्राईरहेका छन।विषवमन गरि रहेका छन।भाईरल हुने होडवाजीमा छाडा प्रवृत्तीका तीज गीतहरुको युग शूरु भएको भन्दा पनि अत्युक्ती नहोला।यसलाई नियन्त्रण गर्न ढीला भै सकेको आवाज उठ्न थालिसकेको छ।
ङ.नयाँ आर्थिक वर्षको शूरुवाती दिनः
बैशाख १ गते वाट नयाँ वर्ष शुरु भएजस्तै प्रत्येक वर्षको श्रावण १ गतेवाट नयाँ आर्थिक वर्षको शुरुवात हुने चलन विसं २०१८ साल देखि चलाइएको पाईन्छ। सरकारी तथा गैर सरकारी सवै आर्थिक कारोवारहरु असार मशान्तमा सालतमाम गरी आजवाट नयाँ शुरु गरिन्छ।
३) साउन १५ खीर खाने दिनः
बर्षा ऋतुका वेला असार १५ मा दही च्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ। कृषि र पशुपालनको प्रतीकका रूपमा यो भोजनलाई ग्रहण गरिन्छ।बर्खायाममा रोपाई समाप्त गरेर खुसियाली मनाउँदै शरीरलाई ऊर्जा प्रदान गर्न मिष्ठान्न भोजन अथवा खीर खाने र खुवाउने गरिन्छ।
खीर सात्विक आहारमा पर्छ।पितृकार्य र देवकार्यमा पनि उत्तम मानिन्छ।साउन महिनामा हरियाली प्रसस्त हुनाले दूध प्रचुरमात्रमा पाईने,शिवलाई दुध र दुधमा वनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाउन खीर खाने प्रचलन चलेको पाईन्छ।यसले संस्कृति, परम्परा,कृषि र समाजलाई एकआपसमा जोडने पवित्र कार्य गर्दछ।
४) साउन १६ गते राष्ट्रिय कोदो दिवस:
दुःखी खेती,दुःखी गरिवको खाना भनेर अपहेलित कोदो अहिले सवैको लोकप्रिय भोजन बनेको छ।कोदोको ढिडो,रोटी अहिले सवैको रोजाईमा परेको छ।कोदोजन्य परिकारका होटल,रेष्टुरेन्टहरु धामधम खुल्न थालेका न।कोदो पहाडी भेगको प्राचिन रैथाने क्याल्सियम,फलाम र फस्फोरस पाईने पोषणयुक्त वाली हो।यसले पाचन प्रणालीमा सुधार र मधुमेह नियन्त्रण गर्छ।वहुउपयोगी कोदो खेती नेपालवाट लोप हुन लागेको पहाडमा कोदो रोप्ने बारीहरू सर्वत्र बञ्जर रहेको सन्दर्भमा कोदो खेती प्रतिको आकर्षण वढाउन यस वर्ष देखि नेपाल सरकारले प्रत्येक वर्षको साउन १६ लाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउने निर्णय गरेको छ।यो कदम सराहनीय नैछ।कार्यान्वयन र उपलव्धीको विषय भने भविष्यको गर्भमा नै छ।
५. नागपञ्चमीःसांस्कृतिक एवं पर्यावरणीय पर्व
सांस्कृतिक पक्षः श्रावण महिनामा नै पर्ने नागपञ्चमीमा घरको मूल ढोकामा चटयांङ,वज्र नपरोस अग्नी भय तथा कुनै अशुभ नहोस भन्ने भाव राखी गाईको गोवरले हस्तलिखित वा मुद्रित नाँग टाँस्ने र त्यसमाथि सिंगो सुपारी, दुवो चढाई लावा,अविर आदिले नागको पूजा गर्ने तथा चामलको पीठोको दूध बनाई चढाई घृतधारा लगाउने गरिन्छ।गाउँघरमा पानीको मूल भएको ठाउँमा नागको पूजा गर्ने,कपासलाई नागकृति दिएर वा कुनै पत्थरशीला आदिमा नाग देवताको भाव राखी नागको पूजा गर्ने चलन छ।खेती किसानी गर्नेले वर्षे वाली मकै,वोडी लगायतका नयाँ वालीहरु नाग देवतालाई चढाएर(धार दिएर) मात्र खान शुरु गर्ने परम्परा पनि छ।नाग पञ्चमीवाट हिउँद शुरु हुन्छ भन्ने गरिन्छ।
पर्यावरणीय पक्षः वातावरणविदका अनुसार पानी,माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागको पूजा हो।यो अन्य जीवहरूसँग मानिसको सहअस्तित्वको सन्दर्भ पनि हो।प्रकृतिको उचित संरक्षण गर्न नसक्दा विश्वले आज जलवायु परिवर्तनको असर भोगिरहेको छ।प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमीजस्तो पर्व उहिल्यै देखि मनाउदै आएको छ। जिउँदा नागहरु खोजी खोजी विनाश गर्ने तर कागजी नाग पूज्ने पर्वको रुपमा परिमार्जन हुने होकि भन्ने चिन्ता र चासो सरोकारवालाले गर्नु स्वाभाविक नै देखिन्छ।
६.श्रावणी पूर्णिमा र गरिने कृत्यः
७. बोलबम यात्रा: श्रद्धा र साहसको संगम
बोलबमलाई वृहत प्रज्ञा नेपाली शव्दकोषमा भारतको विहारस्थित शैवमार्गीहरुको एक धाम,शैवमार्गीहरुद्वारा हरेक वर्ष साउन महिनाभरि मुख्य मुख्य शिवमन्दिरहरुमा लट्ठी र पानीको मटुलो लिई दर्शन गर्न जाँदा फलाकिने शव्द भनि उल्लेख गरेको छ।
बोलबम अर्थात बम बम भोले भन्दै शिवको नाम उच्चारण गर्दै यात्रा गर्ने भक्तजनहरुले टाढाटाढाको पवित्र नदीवाट जल ल्याई नजिकको शिवलिंगमा अर्पण गर्छन। यही जलार्पण गर्ने धार्मिक अनुष्ठानलाई बोलवम पनि भनेर बुझ्ने गरिन्छ।
बोलबमले समाजमा सामाजिक एकता,अनुशासन,सेवाभाव र सहनशिलताको अभ्यास गराउँछ।यसको मूल सन्देश त्याग तपस्या र विश्वास पनि हो।
शिवलिङ्ग: भ्रम,यथार्त र वास्तविकता!
शिव शव्दले परमात्मा र लिङग शव्दले चिन्ह भन्ने बुझाउँछ।अदृश्य परमात्मालाई वोध गराउने चिन्ह नै शिवलिङ्ग हो।शिवमूर्ति होईन।शिवालिङ्ग जहाँ राखिन्छ त्यसलाई शिवालय र देवीदेवताको मूर्ति राखिने घरलाई मन्दिर भनिन्छ।सवै देवीदेवताको आश्रयस्थल,चराचर जगतको उत्पती,विकास र विनासको मालिक शिवालिङ्ग हो।प्राणी,प्रकृति र व्रम्हाण्डको प्राण शिवलिङ्ग हो।
अर्थ नै नवुझी,रहस्य नै नजानी,तथ्य नै थाहा नपाई शिवलिङ्गलाई पुरुषको प्रजनन अंग भनी अपव्याख्या गरिन्छ। प्रजनन अंगको पूजा गर्ने भनी गलत प्रचारप्रशार गरिन्छ।शिवलिङ्गको सवैभन्दा तलको भाग चारपाटे,बिचको भाग आठपाटे र माथिल्लो भाग गोलाकार हुन्छ।शिवलिङ्गले परमात्माको स्वरुप वा आकारको वोध गराउँन कि प्रजनन अंगको।महादेवको पूजा सय वर्ष गर्नु र शिवलिङ्गको पूजा एकदिन गर्नुको फल बराबर हुने शास्त्रमा बताईएको छ।शिवलिङ्गवाट नै शास्त्र,देवीदेवता, मन्त्र,तन्त्र,यन्त्र,जीव र चराचर जगत उत्पन्न भएकाले परमात्माको रुपमा बुझ्न, पुज्न र चिन्तन गर्नु पर्छ।
कमल पन्थी