भैरहवा । आजको दिनलाई देशले संविधान दिवस भनेर मनाइरहेको छ। बिहानैदेखि देशभर सरकारी तामझाम, झण्डा फहराउने, पदयात्रा, सभा–सम्मेलनजस्ता कार्यक्रम गरेर यस दिनलाई उत्सवको रुपमा देखाउने प्रयास भइरहेको छ। तर यो उत्सव साच्चिकै जनताको उत्सव हो त? कि केही नेताहरूको ’शो’ मात्रै?
मेरो विचारमा आजको दिन ‘कालो दिन’ हो। किनभने २०७२ सालमा हतार–हतार पारित गरिएको यो संविधान न त सबैको भावना समेट्न सकेको छ, न नै राष्ट्रिय उद्देश्यलाई आत्मसात गर्न सकेको छ। यो निर्दोष जनताको रगतले लेखिएको अधुरो संविधान हो।
यस संविधानले आदिवासी, जनजाति, मधेसी, मुस्लिम, अल्पसंख्यक बाहेकका, सबै वर्ग र समुदायको पीडा बुझ्न सकेन । बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय समाज रहेको हाम्रो देशको विविधतालाई समेट्न नसक्नु यसको मूल कमजोरी हो।
नेपाल सदियौंदेखि सनातन हिन्दू राष्ट्र रहँदै आएको थियो। तर संविधानले त्यो पहिचान नै मेटाइदियो। धर्मनिरपेक्षता जनताको मत बिना थोपरियो। यसले धार्मिक, सांस्कृतिक र ऐतिहासिक मूल्यहरूमाथि प्रहार ग¥यो।
नेतामुखी, जनविरोधी संरचना
यो संविधान नेतालाई मालिक र जनतालाई दास बनाउने संरचना हो।
न्यायपालिका नेताभन्दा तल, कानुन नेताको स्वार्थअनुसार मोड्ने प्रवृत्ति छ।
योग्य, सक्षम युवाको अवमूल्यन गरेर बुढो र परिवारवादको प्रवद्र्धन गरिएको छ।
आत्मनिर्भरता होइन, परनिर्भरता!
यो संविधानले देशलाई आत्मनिर्भर बनाउने नीतिहरू होइन, विदेशमुखी र सहयोगमुखी बनाउने आधार तयार ग¥यो। कृषि, उद्योग, व्यापार सबै क्षेत्र गिर्दै गएका छन्।
संविधान बन्यो, तर कसको लागि?
यो संविधान २०४७ सालको संविधानजस्तै सर्वस्वीकार्य बन्न सकेन। केही नेताहरू, केही पार्टी र तिनका परिवारको लागि मात्र बनाइएको जस्तो लाग्छ।
जब संविधान बनाउने नाममा जनताको छातीमा गोली चलाइन्छ, जब आन्दोलनकारीहरूको रगतले सडक रातो बनाइन्छ, त्यस्तो संविधान जनताको होइन, नेताको दस्तावेज मात्र हुन्छ।
आज देश संविधान दिवस मनाइरहेको छ, तर हजारौं नागरिक यसलाई ‘कालो दिन’ का रूपमा सम्झिरहेका छन्। जबसम्म संविधान सबै जात, धर्म, वर्ग, क्षेत्र र समुदायको भावना अनुसार फेरबदल हुँदैन, तबसम्म यसले जनताको मन जित्न सक्दैन।
वीर सहिदहरूलाई हार्दिक श्रद्धाञ्जली!
उनीहरूको बलिदान एकदिन साँचो राष्ट्रनिर्माणमा बदलिनेछ भन्ने विश्वासका साथ, संविधानको समिक्षा र सुधार अपरिहार्य छ।
लेखकः अजय कुमार गुप्ता
राजनैतिक विश्लेषक - समाजसेवी